उपचाररत ५ खेलाडीलाई आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचाररत ५ खेलका ६ खेलाडीलाई आर्थिक सहयोग गरेको छ।

कोषले मंगलबार ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरेको हो।
कोषले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथ्लेटिक्सका जितबहादुर केसी र कराँतेका विष्णु नेपालीलाई समान १ लाख २५ हजार रुपैयाँ प्रदान गरेको छ।
भलिबलकी रिया कुँवरलाई ६३ हजार ९ सय २९, आईटीएफ तेक्वान्दोका दीपक गौतमलाई ८७ हजार ९ सय १४, कराँतेकी कोपिला विष्टलाई ७५ हजार र ब्याडमिन्टनकी सिमा राजवंशीलाई ८० हजार रुपैयाँ उपचार खर्च दिएको छ।
कोषका अध्यक्षसमेत रहेका राखेप सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरण गर्दै सदस्यसचिव घिसिङले खेलाडीको स्वास्थ्य लाभको कामना गर्दै भने, ‘सानो सहयोगले पनि ठूलो अर्थ राख्छ त्यसैले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सहयोगका लागि अन्य निकायको पनि सहयोग खाँचो छ।’

प्रतिक्रिया