हेनसेन याक्खा को शब्दमा नेपाली र याक्खा भाषाको गीत ‘जेप्पा’ सार्वजनिक गरिएको छ ।
चर्चित गायक राजेश पायल राई र गायिका सीता सिंगक लिम्बुको स्वर रहेको उक्त गीतमा सङ्गीत साहित्यकार राजन मुकारुङले दिएका हुन् ।
युवा निर्देशक सनम याक्खा निर्देशित र भोगेन्द्र याम्फुको छायाङ्कन रहेको गीतको भिडियोमा मोडल अनुशा राई, टी.बी. याक्खा, हेनसेन र जीवन याक्खा लगायतका कलाकारहरुलाई देख्न सकिन्छ ।
यो गीत विशेष गरी याक्खा जातीको भाषा, संस्कृती र पहिचानको जगेर्ना गर्ने हेतुले बनाईएको हो ।
गीतमा प्रयोग भएको याक्खा शब्द ‘जेप्पा’ को अर्थ बाचा-कसम भन्ने हो ।
विशेष गरी याक्खा जातीको पहिचानको रुपमा रहेको ‘फोप्मा’ (बर्की/पछ्यौरी) को महत्वसंगै माया प्रेमको कथा वस्तु रहेको भिडियोलाई संखुवासभा र तेह्रथुमको संगमस्थल तीनजुरेको रमणिय स्थलहरुमा छायांकन गरिएको हो ।
प्राज्ञ राजन मुकारुङको प्रमुख आतिथ्ययतामा चर्चित अभिनेता दयाहाङ राई, गीतकी मोडल अनुशा, गीतकार हेनसेन,युवा निर्देशक सनम, सिनेमटोग्राफर भोगेन्द्र याम्फु, किरात याक्खा छुम्माका केन्द्रिय अध्यक्ष लिल बहादुर रोगु, छुम्माकै उपमहासचिव सोनाम याक्खा, आदिवासी जनजाति चलचित्र प्रदेश नं।१ का अध्यक्ष ज्योति राज राई लगायतका व्यक्तित्वहरुको समुपस्थितिमा आइतबार मण्डला थिएटरमा भिडियोको अफिसियल प्रिमियर शो गरिएको थियो ।
उक्त कार्यक्रमलाई संचारकर्मी विश्व लिम्बुले संचालन गरेका थिए l गीतको शब्दहरू पढ्ने क्रममा जेप्पा शब्द बाट आफू प्रभावित भएर गीत कम्पोज गरेको कवि मुकारुङले बताए ।
निर्देशक सनमको तारिफ गर्दै अभिनेता राईले भिडियोमा याक्खा जातिको पहिचान बोकेको फोप्माको महत्व झल्काईएकोमा खुसी ब्यक्त गरे ।
गीतकार याक्खाले याक्खा समुदायको भेषभुषा र संस्कार देखाउन भिडियो सफल भएकोमा खुसी ब्यक्त गरिन् ।
सो गीत ‘ओ.एस.आर. डिजिटल’ बाट सार्वजनिक भएको छ ।
प्रतिक्रिया