शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज नबुझाउने निर्णय

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । वैशाख ३१ मा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले सो निर्देशन दिएका थिए । तर, सो समय सीमाभित्र अनुसन्धान प्रतिवेदन पेस नहुने भएको छ ।

प्रहरीले बुधवार अनुसन्धान प्रतिवेदन नबुझाउने निर्णय गरेको छ । शरणार्थी प्रकरणको अनुसन्धान नसकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले रातोपाटीलाई बताए । रिजालले भने, ‘अनुसन्धान सकिएको छैन ।’

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका हुन् । हालसम्म यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे सहित १४ जना थुनामा छन् ।

 

प्रहरीले उनीहरुविरुद्ध सङ्गठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । सङ्गठित अपराधमा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । सुरुमा पक्राउ परेका आरोपीहरू ५४ दिनदेखि हिरासतमा छन् । पछि पक्राउ परेकाहरूको पनि सुरुमा पक्राउ परेका आरोपीसँग म्याद मिलान हुन्छ ।

अनुसन्धान सुरु भएको ५४ औँ दिनमा १४ जनालाई नै प्रहरीले अदालतमा उपस्थित गराउँदै छ । सबै आरोपीलाई बुधवार म्याद थपका लागि उपस्थित गराइने एसपी रिजालले जानकारी दिए ।

 

प्रतिक्रिया