नक्कली भुटानी शरणार्थी प्रकरणमा आज १६ जनाको बयान हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान शुरु हुने भएको छ । यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो ।

१४ जना फरार रहेकाले आज १६ जनाको मात्र बयान सुरु हुन लागेको हो । फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ ।

शुक्रबार आरोपित विरुद्धको मुद्दाको पेशी तोकिनेछ र सम्बन्धित न्यायाधीशको इजलासमा बयान हुनेछ । इजलासले उनीहरुको एकैसाथ वा छुट्टाछुट्टै रुपमा समेत बयान गराउन आदेश दिन सक्नेछ । सबैको बयान गराउनुपर्ने भएकाले आज बहस शुरु हुने सम्भावना छैन ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन खोजेको अभियोगमा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायत विरुद्ध जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

अभियोगपत्रमा संहिताको दफा ४३ अनुसारको एकीकृत कसुर अन्तर्गतको सजाय मागदावी गरिएको छ । जसमा एउटै घटनामा एकभन्दा बढी कसुर भएमा सबैभन्दा बढी सजाय हुने कसुरको सजायमा त्यसपछि बढी सजाय हुने दोस्रो कसुरको आधा सजाय थप हुने व्यवस्था छ । सरकारी वकिलले संगठित अपराधको दाबी गरेकाले कुल सजायमा ५० प्रतिशत सजाय थप हुने व्यवस्था पनि छ ।

प्रतिक्रिया