ब्लकबस्टर फिल्म ‘जारी’मा लिम्बू समुदायको मर्मस्पर्शी कथा हेरेका दर्शकले नयाँ फिल्म ‘लुंगा’मार्फत लिम्बू समुदायकै नयाँ कथा हेर्न पाउने भएका छन् ।
किरण राईले निर्देशन गरेको यो फिल्मले साउन ५ गतेलाई रिलिज मिति तय गर्दै पोस्टर सार्वजनिक गरेको छ ।
निर्देशक राईले पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको रोचक कथालाई यसमा समेटिएको बताए ।
फिल्ममा बुद्धि तामाङ, भुवनसिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिखिम, सुदीपजंग कार्की, गंगाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल र सलिना गुरुङको अभिनय छ ।
पोस्टरमा फिल्मका शीर्ष कलाकारलाई समेटिएको छ । आगामी साता आयोजनामा हुने तयारीमा रहेको दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा फिल्मको प्रिमियर गर्ने तयारी छ । फिल्मको निर्मातामा सञ्जीव राई र प्रयास घिमिरे छन् ।
भुवनसिंह राईले लेखेको कथालाई भुवनसिंह, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा तथा संवाद लेखेका हुन् । ज्योतिराज राईको निर्माण कम्पनी भूमिशा प्रोडक्सनले फिल्म निर्माण गरेको हो ।
प्रतिक्रिया