नवौं राष्ट्रिय खेलकुदका लागि सहयोग गर्न तयार छौं – खेलकुद मन्त्री

पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नवौं राष्ट्रिय खेलकुद सफलताको लागि मन्त्रालय सहयोग गर्न तयार रहेको जनाएका छन् ।

गण्डकी प्रदेशमा २२ जेठदेखि २८ सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारी बारे राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा पोखरामा आयोजित पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रममा मन्त्री गहतराजले भने, ‘अब प्रतियोगिताका लागि ३७ दिन बाँकी छ । यहाँहरुले आफ्नो तयारी सुरु गर्नुहोस् । सरकार यहाँहरुको साथमा छ ।’

मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा आयोजना हुने कुरामा जोड दिए । उनले भने ‘हामीसँग समय छोटो छ । खेलाडी छनौटदेखि प्रतियोगिताको तयारी सुरु गर्नुछ । खेलाडी छनोट  प्रकृया भोलिबाटै प्रक्रिया सुरु गर्नुस् । सरकार आर्थिक, नैतिक र प्राविधिकरुपमा सहयोग गर्न तयार छ ।’

पोखराको सुस्ताएको पर्यटनलाई समेत नवौं राष्ट्रिय खेलकुदले माथि उठाउन सहयोग पुग्ने बताउँदै मन्त्री गहतराजले कोभिडपछि हुन लागेको नवौं राष्ट्रिय खेलकुदले पोखरा सुरक्षित छ भन्ने सन्देशसमेत प्रवाह हुने बताए । गण्डकी प्रदेशमा ३९ वर्ष पछि हुन लागेको राष्ट्रिय खेलकुद आफ्नो ऐतिहासिक बर्चस्व बनाउन सफल हुने भन्दै उनले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न यहाँको व्यवस्थापन सफल हुने र अन्य प्रदेशलेसमेत यहाँबाट सिक्ने अवसर प्राप्त गर्ने उल्लेख गरे ।

प्रतिक्रिया