ताप्लेजुङमा अवस्थित पवित्र मुन्धुमीस्थल मुक्कुमलुङ-पाथीभरा क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ । केवलकार बनाएर ताप्लेजुङको विकास गर्ने नाममा आतंक मच्चाइएको स्थानीयको आरोप छ । कार्तिक २३ गते चन्द्रागिरी केवलकारका संस्थापक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको पाथीभरा केवलकार नामको निजी कम्पनीले राज्यसत्ता र सुरक्षाकर्मीहरूको आडमा केवलकार उद्घाटनका नाममा आतङ्क मच्चाएको उनीहरुले आरोप लगाएका हुन् । सुरक्षा संयन्त्र, स्थानीय प्रशासन एवं राजनितिक दलको उपस्थितिमा केवलकार निर्माण कार्यको शिलन्यास बलपुर्वक गरिएको भन्दै आन्दोलनकारीले कडा आपत्ति जनाएका छन् । शिलन्यास गर्ने क्रममा दुई पक्ष बिच झडप हुँदा मुक्कुमलुङ संरक्षण अभियन्ता चन्द्र मादेनको टाउको फुट्नुका साथै हात समेत भाँच्चीएको छ। साथै स्थानीय मजदुर अर्जुन लिम्बु माथि धारिलो खुकुरी प्रहार भएको छ ।
तीर्थालुहरुको भारी बोकेर आफ्नो घरपरिवार धान्ने ७०० भन्दा बढी भरियाहरू मध्ये एक हुन्, अर्जुन लिम्बु।
आन्दोलनरत पक्षले विज्ञप्ति जारी गर्दै भनेको छ “शान्तिपूर्ण आन्दोलन गरेका अभियन्ता अनि सामान्य मजदुरी गरिखाने निर्दोषको ज्यानै लिने गरि घटेको यो आतंककारी घटनाले केहि गम्भीर प्रश्नहरु उठाएको छ: संघीय- लोकतान्त्रिक-गणतान्त्रिक-धर्मनिरपेक्ष मुलुकमा आफ्नै थातथलो र मौलिक पहिचान, पुस्तेनी सांस्कृतिक सम्पदा, मुन्धुमी जीवनदर्शनको रक्षा गर्नु विकास विरोधी कसरी भयो ?“
“व्यक्तिगत नाफालाई मुलुक को लाभ देखाउने व्यापारी, रैथाने स्थानीयहरूको आवाज नसुन्ने, संघर्ष नबुझ्ने शासक र नागरिक को सुरक्षाको जिम्मा लिएको भन्ने तर नागरिकहरूभन्दा निश्चित व्यापारी र शासककै निमित्त खटाइने सुरक्षा संयन्त्रहरूको आड मानेर आफ्नै टेक्ने जमिन-बाच्ने आधार गुमाउन र आफ्नाहरूकै हानी गर्नमा के त्यस्तो नाफा छ ? केवलकारले ल्याउने बलजफ्ती झकीझकाउ विकास ताप्लेजुङ र ताप्लेजुङबासीहरुकै हितमा हुने ग्यारेन्टी के छ ?”
केवलकार निर्माणको नाममा भएको आक्रमण र प्रहरी ज्यादतीको घोर निन्दा एवं भत्सर्ना गर्दै आन्दोलनरत मुक्कुम्लुङ संयुक्त संघर्ष समिति, मुक्कुम्लुङ केवलकार खारेजी संघर्ष समिति तथा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले, आक्रमणकारीहरूलाई सरकारले तुरन्त पक्राउ गरी कडा कानूनी कारवाही गर्नुपर्ने माग गरेका छन् । साथै घटनाको सम्पूर्ण जिम्मेवारी चन्द्र प्रसाद ढकाल र स्थानीय प्रशासनले लिनुपर्ने भन्दै घाइतेहरूको सम्पूर्ण उपचार तथा क्षतिपूर्ति पनि व्यहोर्न पर्ने पनि संघर्षरत पक्षले माग गरेका छन् ।
प्रतिक्रिया