डोना थापा मगर “बारु” चलचित्र मार्फत अभिनयमा डेब्यु गर्दै

पूर्व राष्ट्रिय खेलाडी तथा अहिलेका चर्चित भ्लगर डोना थापा मगरले नयाँ चलचित्रमा सम्झौता गरेका छन् । भ्लगिङमार्फत चर्चा कमाएका डोनाले बारु चलचित्रमार्फत डेब्यु गर्न लागेका हुन् । सामाजिक संजाल फेसवुकमार्फत आफ्ना दर्शकलाई धन्यवाद दिँदै डोनाले खेलाडी र भ्लगरका रुपमा दिएको माया ठूलो पर्दामा पनि दोहोरिने विश्वास गरेका छन् । “खेलकुद र मनोरञ्जनका सबै विधासँगै बाल्यकालदेखि नै ठूलो पर्दामा देखिने सपना थियो तर बाटाहरु स्पष्ट थिएनन्, तर कर्म गर्दै जाने क्रममा आफूले जीवनमा कहिल्यै पुरा होला भनेर नसोचेको सपनाहरु पनि पुरा हुने रहेछ । चलचित्रको पर्दामा आफैलाई देख्ने बाल्यकालदेखिकै सपना थियो जुन बारु चलचित्रमार्फत अब पुरा हुने भएको छ”, डोनाले लेखेका छन् । चलचित्रको टिमसँग बारुको मुख्य पात्रका लागि सम्झौता गर्दा सपना झैँ लागेको उल्लेख गर्दै आफूलाई विश्वास गरेकोमा निर्माण टिमलाई डोनाले धन्यवाद दिएका छन् । “मेरो भगवानरुपी दर्शक,शुभेच्छुक तथा शुभचिन्तक सबैलाई यस घडीमा धन्यवाद दिन चाहान्छु, यहाँहरुकै माया र साथले आज मेरो ठूलो पर्दाको यात्रा संभव भएको छ । मेरो लागि ठूलो पर्दाको यात्रा बिल्कुलै फरक र चुनौतिपूर्ण छ तर यहाँहरुको माया र साथले यो चुनौती र यात्रा पनि सहज हुने विश्वास लिएको छु “, डोनाले लेखेका छन् । डोनाले भ्लगिङमा चर्चा कमाएसँगै सुङ्गुरको मासुमा पल्केर, धारिलो तीर, साइनो लगाइ बोलाउँ भने, आउँथ्यो दशैँ, रानी हजुरको, नम्बरी सुन लगायत २ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया