
बाँच्ने इच्छाशक्ति कति बलियो हुन सक्छ भन्ने अद्भुत उदाहरण बनेका छन् रवीन्द्रनाथ हाल्दार । जो बंगालको खाडीमा पाँच दिनसम्म समुद्रमा तैरिएर ज्यान जोगाउन सफल भएका छन् । यो घटना न केवल दुर्लभ छ, यो साहस, आत्मबल र मानवताको उज्यालो उदाहरण पनि हो । यो घटना हो पश्चिम बङ्गालको दक्षिण २४ परगना जिल्लाको । रवीन्द्रनाथ नामका एक व्यक्ति आफ्ना १५ साथीसँग माछा मार्न हल्दिया नजिकै बंगालको खाडीमा गएका थिए । त्यतिबेला अचानक समुद्रको रुख फेरियो, एक्कासि ठूलो आँधी आयो, लहरहरू बेकाबू भए र केही क्षणमै ट्रलर पल्टियो । सबै जना समुद्रको विशाल लहरमा बग्दै गए र रवीन्द्रनाथ पनि त्यही लहरमा बग्न थाले । तर उनी डराउने मान्छे थिएनन् । पेशाले माछा मार्ने भएकाले रवीन्द्रनाथलाई समुन्द्रको स्वभाव थाहा थियो । उनले जिउँदै फर्कने भरोसा मरेनन् । उनी घण्टौँ तैरिए, रात बिते, दिन फेरिए — उनी भने आशा नछाडेर तैरिरहे । भोकले शरीर कमजोर हुँदै गयो । तर उनी वर्षाको पानी पिएर आफुलाई जिउँदै राख्थे । सुत्ने ठाउँ थिएन, विश्रामको समय थिएन — केवल जीवित रहनु थियो । पाँचौँ दिन बाङ्गलादेशको कुतुबदिया टापु नजिक ’एम.भी. जवाद’ नामक एक जहाज गुज्रिरहेको थियो । जहाजका कप्तानले समुद्रमा टाढाबाट एक आकृति देखे — ध्यान दिएपछि, त्यो एकजना मानिस भएको थाहा भयो । कप्तानले झटपट लाइफ ज्याकेट फ्याँके — पहिलो प्रयास असफल भयो । जहाज मोडियो, दोस्रोपटक पुनः प्रयास गरियो । र यसपटक रवीन्द्रनाथ ज्याकेट समात्न सफल भए । क्रेनमार्फत उनलाई सावधानीपूर्वक जहाजमा तानियो । उनी अर्धचेत अवस्थामा थिए — थकित, शिथिल, तर जीवित । जहाजभित्र जीवनको जितको तालि निकै ठुलो बज्यो । रवीन्द्रनाथको उद्धारपछि जहाजभित्र हर्षको वातावरण बन्यो । जहाजका कर्मचारीले न केवल एक मानिसको ज्यान बचाए, उनीहरूले मानवीयताको गहिरो सन्देश पनि छाडे । जहाजका एक कर्मचारीले उक्त क्षणको भिडियो खिचेका थिए — जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त दृश्य हेर्दा केवल एउटा मान्छेको जीवनको कथा होइन, साहस र करुणाको एउटा गहिरो सन्देश महसुस हुन्छ ।
प्रतिक्रिया