
प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायलसँग युद्धविराम र बन्धकहरूको रिहाइसम्बन्धी नयाँ प्रस्तावमा सहमति जनाएको छ । इजिप्ट र कतारको मध्यस्थतामा तयार गरिएको यो योजना अमेरिकी राजदूत स्टीभ विटकफको रूपरेखामा आधारित रहेको बीबीसीले जनाएको छ । प्रस्तावअनुसार सुरुमा ६० दिनको युद्धविराम लागू गरिनेछ, जसपछिको चरणमा हमासले बाँकी रहेका ५० इजरायली बन्धकहरू दुई समूहमा रिहा गर्नेछ । तीमध्ये करिब २० जना जीवित रहेको आशा गरिएको छ । स्थायी युद्धविरामका लागि वार्ता पनि सोही अवधिपछि अगाडि बढ्नेछ । तर, अहिलेसम्म इजरायलले यस प्रस्तावमा औपचारिक प्रतिक्रिया दिएको छैन । गत हप्ता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले सबै बन्धकहरू एकैपटक रिहा भए मात्र कुनै सम्झौता स्वीकार्ने बताएका थिए । हमासको सहमतिसँगै आएको नेतन्याहूको पछिल्लो भिडियोमा भने प्रत्यक्ष रूपमा कुनै टिप्पणी गरिएको छैन, तर उनले हमास दबाबमा रहेको संकेत गरेका छन् । आशा गरौं सहमतीभई नेपाली विद्यार्थी विपिन जोशी साथै सम्पूर्ण बन्धकहरुको चाडै र सकुशल रिहाई होस् ।
प्रतिक्रिया