
काठमाडौं। गायिका इन्दिरा जोशीले जुम्ल्याहा सन्तानलाई जन्म दिने भएकी छिन। सामाजिक सञ्जालमा आफ्नो बेबी बम्प फोटोसुटका तस्वीरहरु सार्वजनिक गर्दै उनले आफु जुम्ल्याहा सन्तानको आमा हुन लागेको जानकारी दिएकी हुन।
इन्दिराले गर्भावस्थाको अनुभव खुलाउँदै लामो भावुक टिप्पणी पनि लेखेकी छन्। गर्भावस्था आफुले सोचेभन्दा धेरै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै लेखेकी छन्,‘अहिलेसम्म जुम्ल्याहा बच्चासँगको यात्रामा मैले जे अनुभव गरें, त्यसपछि अब म आफूलाई ‘यदि यो गर्न सक्छु भने जे पनि गर्न सक्छु’ भन्ने महसुस गरिरहेकी छु।’
उनले अघिल्ला पुस्ताका महिलाहरूले यस्ता कठिनाइबारे धेरै नबोलेको भन्दै महिलाले आफ्ना अनुभव खुला रूपमा साझा गर्नुपर्ने आवश्यकता पनि औंल्याएकी छन्। उनले अहिले गर्भावस्थाको तेस्रो त्रैमासिक चरण आफूका लागि सहज र सुन्दर बनिरहेको बताएकी छन्।
‘अब कम्तीमा राम्रोसँग खान र यो सुन्दर समयको आनन्द लिन सकिरहेकी छु,’ उनले लेखेकी छन् ।
पोस्टको अन्त्यमा उनले प्रसूति पछिको समय कस्तो होला भन्ने उत्सुकता व्यक्त गर्दै मजाकमा ‘गर्भावस्थाले मलाई लामो क्याप्सन लेख्न पनि सिकायो जस्तो छ’ भनेर प्रशंसकसँग सुझावसमेत मागेकी छन्।
।
प्रतिक्रिया