विचार : गणतन्त्रको विकल्प गणतन्त्र नै

६२,६३ सालको जनआन्दोलन र माओवादी जनयुद्धको संयुक्त उपलब्धि हो गणतन्त्र । २०६५ सालमा आजकै दिन नेपालमा गणतन्त्र स्थापना भएको थियो । देशमा गणतन्त्र स्थापना भएपछि पनि जनताको जीवनस्तर उकासिएन भन्ने धेरैको तर्क छ ।

एउटा राजा बिदा भए पनि धेरै छोटे राजाहरुको उदय भयो र उनीहरुको प्रवृत्तिमा खासै सुधार आएन भन्ने आम जनताको गुनासो छ । असन्तुष्टिका अनेक आवाज छन्, विकासमा खासै उन्नति नभएको यथार्थ हामीमाझ छर्लङ्गै छ । अस्थिर राजनीति अर्को चिन्ताको विषय छ, अर्थतन्त्र डामाडोल जस्तै छ, समस्याका चाङहरु चुलिँदैछन् । यी सबै समस्या र चुनौतीका बावजुद हामी गणतन्त्र दिवस मनाइरहेका छौं ।

होला जनता पूर्ण सन्तुष्ट छैनन् यो अवस्था प्रति तर त्यो व्यवस्थाको खोट होइन् । यो हामी आफैँले सङ्घर्ष गरेर ल्याएको ब्यवस्था हो । जनताको छोरा,छोरी राष्ट्र प्रमुख हुने यो व्यवस्थामा कुनै खोट छैन्, खोट छ त यस व्यवस्थाको बलमा नेतृत्वमा पुगेका नेतृत्व वर्गमा । यसर्थ नेतृत्वको कमी कमजोरीलाई ब्यवस्थासँग जोड्नु गलत हो ।

जसले जे भने पनि लोकतान्त्रिक गणतन्त्र आजको नेपाली जनताको आवश्यकता हो । भलै कतिपय मानिस यस व्यवस्थासँग आज पनि असन्तुष्ट छन् र फरक विचार राखीरहेका छन् तर उनीहरु माथी गम्भीर प्रश्न के छ भने के हिजोको राजतन्त्रात्मक शासन व्यवस्थामा जनताले अभिव्यक्ति स्वतन्त्रताको सदुपयोग गर्न पाएका थिए ? शासकहरुको खुलेर आलोचना गर्न सक्ने अवस्था थियो ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी थियो ? निरङ्कुश शासन ब्यवस्थामा जनताका अधिकार सङ्कुचित थिएनन् ?

आज मुलुकले गणतन्त्रसँगै समावेशिता, संघीयता र धर्मनिरपेक्षता जस्ता उपलब्धिहरु पाएको छ । बहुजातीय,बहुसांस्कृतिक र बहुभाषिक हाम्रो जस्तो मुलुकमा आम जनताको वास्तविक समस्याको सम्बोधन यिनै उपलब्धिहरुमार्फत मात्रै हुनेछन् । अग्रगामी आम नेपाली जनता अब पछी फर्कन चाहँदैनन् । यही व्यवस्थालाई मजबुत बनाउँदै अघि बढ्नु नै आजको आवश्यकता हो भन्नेमा नेपाली जनता विश्वस्त छन् ।

प्रतिक्रिया