ब्लगः म कसरी आलु जस्तो पत्रकार भएँ?

‘ए आलु जस्तो पत्रकार शंका होइन घटना भै सक्यो कहाँ छौ तिमीहरू? तिमीहरू पनि अरु को कपी गरेर कमाउ धन्दा नगर्नु, सक्छौ आफै काम गर्नु’…

परदेशी कान्छा नामको एउटा आइडीबाट मेरो अनलाइन टिभीमा प्रशारित विमान सम्पर्कविहीन भएको भिडियो सामग्रीमा यस्तो प्रतिक्रिया आयो । उहाँ कस्तो अवस्थामा, संसारको कुन कुनामा हुनुहुन्थ्यो त्यो थाहा भएन तर उहाँलाई जानकारी भइसक्यो की विमान दुर्घटनाग्रस्त भइसक्यो । उहाँलाई विमान दुर्घटना भएको भन्न र श्रद्धान्जली दिन यति हतार किन भयो होला? उहाँलाई मात्रै होइन सामाजिक सञ्जाल प्रयोगकर्ता धेरैलाई यस्तै हतार हुने गरेको छ श्रद्धान्जली दिन र कुनै घटनाको पुष्टी नभइ सञ्जालमा लेख्न ।

आइतवार विहानै ९ः ५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी विमान सम्पर्कविहीन भयो । सम्पर्कविहीन भएर निर्धारित समयमा अवतरण नभएपछि विमान दुर्घटना भएको आंकलन गरिनु स्वभाविक थियो तर समाचार पुष्टी हुने कुनै आधार नभेटी सामाजिक सञ्जालहरुमा दुर्घटना भइसकेको भन्दै पुराना विमान दुर्घटनाका फोटोहरु हाल्दै श्रद्धान्जली दिन थालियो ।

खासगरी फेसवुक र टिकटकमा कुनैपनि घटना घटित हुने बित्तिकै बोलीहाल्नुपर्ने मानिसहरुले दुर्घटनाको पुष्टी भएको जस्तो गरी फोटोहरु पोस्ट गर्न थाले । सायद तिनै मध्ये एक थिए ती प्रतिक्रिया दिने परदेशी कान्छा जसले यस्तै पुराना फोटो राखेर पोस्ट गर्नेहरुको समाचार हेरे या आफैले पनि सायद पोस्ट गरे र हाम्रो समाचारमा विश्वाश गरेनन् र आलु पत्रकार सम्म भन्न भ्याए । सोमवार विहान मात्रै मुस्ताङको थासाङ गाउँपालिकाको पानापाथी हिमाल नजिकै दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पर्यो । जब की आइतवार विहानै मानिसहरु विमान दुर्घटना भएको आफै पुष्टी गर्दै श्रद्धान्जली दिन हतार गरिरहेका थिए ।

सामाजिक सञ्जालको सहज उपलब्धताले पक्कै पनि सबैलाई सन्देशवाहक बनाएकै छ । तर घटना पुष्टी नभइ हतारमा गरिने टिप्पणी र पोस्टहरुले कस्तो परिणाम निम्त्याउँछ भन्ने सचेतना नहुँदा कहिलेकाहीँ आफैलाई निक्कै अप्ठ्यारो पर्न सक्छ । यसर्थ आफुलाई कुनै कुराबारे पूर्ण जानकारी नभएसम्म सामाजिक सञ्जालमा टिप्पणी गरिहाल्ने,पोस्ट गरिहाल्ने,विवाद गरिहाल्ने बानी रोक्ने पो हो की?

https://youtu.be/YeezpzuJJJg

प्रतिक्रिया