फेसवुक र टिकटकका विशेषज्ञहरुलाई विन्ती

सहमति भएपछि छुट्टिने बेलामा फुर्पा भाइले दयाहाङ राईसँग फोटो खिचीसकेपछि तपाईँसँग पनि फोटो खिच्छु भने मैले भाइसँग फोटो खिच्दै ‘भाइ म माया पनि गर्छु सम्झाउँछु पनि है आगामी दिनमा यस्तो नगर्नु है भनेँ,’ भाइले सहमतिमा टाउको हल्लाए ।

माथि उल्लेखित दृश्य अभिनेत्री मिरुना मगर र भिक्षु फुर्पा तामाङ वीच सहमति भएपछिको हो । माफी मागेर जाँदै गर्दा मलाई पनि ती भाइको माया लाग्यो तर माया लाग्यो भन्दैमा गल्ती स्वीकार गरेको मान्छेलाई सहि गरिस् बाबु त भन्न सकिन्न नि होइन? जे होस् सहमतिको खबर सुनेर अधिकांश मानिस सकारात्मक भए । बुझ्नेले मिलापत्र पढेरै बुझे के भएको रहेछ भनेर, नबुझ्नेले पढेर पनि बुझेनन् । केही मानिसलाई अझै चित्त बुझेन, प्रभाव र दबावमा सहमति गरियो, सोझो लामालाई फसाइयो भन्दै कुर्लिन थाले ।

कतिपयले बौद्ध धर्म गुरु खेन्पो कमल भण्डारी लगायतलाई पैशा लिएर सहमति गरेको कपोलकल्पित आरोप लगाए । कतिले मलाई गाली गरे, कतिपयले उल्टै मिरुनाले माफी मागिन् भनेर गलत समाचार प्रकाशन, प्रशारण गरेर घटनालाई थप बल्झाउने काम गरे ।

यी र यस्ता घटनाले हाम्रो समाजको एउटा प्रवृत्ति उदाङ्गो पारिदिएको छ कि सत्य के हो नबुझ्ने, बुझ्नै नचाहाने, कसैको कुरा नसुन्ने, नमान्ने, आफैँ सर्वेसर्वा हो भन्ठान्ने । अनि भीडले जे भन्यो त्यसैलाई सहि भन्ने अनि त्यसबाट मान्छेको वावाही बटुल्ने ।

अभिनेत्री मगरको सवालमा पनि यहीँ भयो की धेरै मानिस भीडको पछि लागे, सोझो अनुहारको पछि लागे, आफै न्यायाधीश जस्तो भएर के गलत के सही छुट्याउनतर्फ लागे । हो भीडले फुर्पालाई निदोर्ष देखे,सोझो र भलाद्मी देखे अनि उनलाई समर्थन गरिहाले तर घटनाको गहिराइ बुझ्न लागेनन् । जब की प्रहरीले भनेको छ प्रारम्भिक अनुसन्धानमा ब्याड टच भएकै देखिन्छ अनि फुर्पा भाइ आफैले गल्ती स्वीकार गर्दै मिरुनासमक्ष माफी मागेको अवस्था छ ।

खुकुरीको पिर अचानोलाई मात्रै थाहा हुन्छ भन्छन् । वास्तवमा नारीको पीडा नारीले जति अरुले बुझेका हुँदैनन् जस्तो लाग्छ । म आफु एक उत्पीडित समुदायको मानिस भएको नाताले भाषिक,सांस्कृतिक,धार्मिक उत्पीडनको पीडा मैले जति उत्पीडिनमा नपरेको समुदायको मानिसले बुझ्दैन जस्तो लाग्छ ।

तर यहाँ त अधिकांश महिला मित्रहरु नै त्यो कुरा बुझ्ने अवस्थामा छैनन् या बुझ्न चाहँदैनन् । अपशब्द र आमाचकारी गाली गर्नेमा झण्डै आधा जति त महिलाहरु पनि छन् । कति मन दुख्छ होला त्यस्तै पीडा तपाईँलाई पर्यो अनि तपाईँको पीडा नबुझेर मानिसहरु तपाईँलाई नै गाली गर्न अघि सरे भने ?

यहाँ त धेरै मानिस मोवाइल फुटेजलाई सिसीटिभी फुटेज भनेर न्यायाधीश बनिरहेका छन्, जब की सिसीटिभी फुटेज अहिलेसम्म सार्वजनिक भएको छैन् । अभिनेत्री मगर र कबड्डी टिम नै फुटेज मगाउने पक्षमा छ । अभिनेता सौगात मल्ललाई अभिनेत्रीको पिठ्युँमा हात राखेकोमा गलत भनिरहेका छन् ।

जे होस् जसले जे भने पनि घटना घटित भइसक्यो, आफूमाथी दुव्र्यवहार भएको पीडा पीडितले पोखेकी छन्, गल्ति गर्नेले पनि स्वीकार गरेका छन् । खाली यति अनुरोध सामाजिक सञ्जालमा न्यायाधीश बन्ने काम कसैले नगरौं ।

अन्तिममा भन्नैपर्ने हुन्छ मिरुनाले पनि राष्ट्रीय कलाकार भएको नाताले आफुलाई परिमार्जित गराउँदै लैजानुपर्छ तर अत्याचार सहेर होइन ।

प्रतिक्रिया