तालिबान विरोधी नीतिमा फेसबुक प्रतिवद्ध, तालिबान नियन्त्रित सञ्चारमाध्यमका पृष्ठ निलम्बनमा

सामाजिक सञ्जाल फेसबुक तालिबानविरोधी नीतिमा दृढ देखिएको छ । फेसबुकले अफगानिस्तानका तालिबान नियन्त्रित राष्ट्रिय टेलिभिजन र बख्तर न्यूज एजेन्सीका पृष्ठहरू निलम्बन गरी तालिबानविरोधी आफ्नो नीतिलाई पुष्टि गरेको हो । “अफगानिस्तान नेशनल टेलिभिजन र बख्तर न्यूज एजेन्सीका पृष्ठहरूले अब फेसबुकमा पहुँच पाउने छैनन्,” अफगानी खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ । समाचारमा लेखिएको छ, “तालिबानले सत्तारोहणसँगै अफगानिस्तान राष्ट्रिय टेलिभिजनको सञ्चार केन्द्रको नियन्त्रण जफत गरेदेखि उनीहरूले यसको प्रयोग गरी आफ्नो पक्षमा व्यापक गतिविधिहरू सञ्चालन गरेका थिए । तथापि, यस केन्द्र र बख्तर समाचार एजेन्सीका पृष्ठहरू हाल पहुँच योग्य छैनन् ।” अफगानिस्तान नेशनल टेलिभिजनका प्रमुख अहमदुल्ला वासिकका अनुसार फेसबुकले यी सञ्चारमाध्यमले चलाएका पश्तो र दरी पेजमा प्रतिबन्ध लगाएको छ । “फेसबुक विश्वभर सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल ‘साइट’ हरूमध्ये एक हो र यो २०२१ को मध्यमा तालिबानलाई आतंकवादी संगठनको रूपमा नामाकरण गर्ने पहिलो संस्था थियो, अफगानी समाचार संस्था खामा प्रेसले बताएको छ । फेसबुकको प्लेटफर्मले तालिबानलाई ‘आतंकवादी संगठन’को रूपमा मान्यता दिन्छ र आफ्नो प्लेटफर्ममा यस संगठनद्वारा सिर्जना गरिएको वा समर्थन गर्ने कुनै पनि सामग्रीको प्रकाशनमा प्रतिबन्ध लगाएको छ,” विशेष स्रोतलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ । खासगरी सामाजिक सञ्जाल स्थलमा युद्धग्रस्त अफगानिस्तानका तालिबान नियन्त्रित सरकारी निकायका पानाहरू यसअघि पनि फेसबुकले बन्द गरेको थियो । फेसबुकका एक प्रवक्ताका अनुसार फेसबुकले आफ्नो सबै प्लेटफर्ममा तालिवान विरोधी नीति लागू गरेको छ । यसका साथै फेसबुक आफैं, इन्स्टाग्राम र ह्वाट्सएपले पनि यो नीति लागू गरेको छ । तालिबानका अधिकारी तथा प्रवक्ताहरू ट्वीटरमा पनि सक्रिय छन् । अफगानिस्तानमा तालिबान समूह सत्तामा आएपछि विशेष गरी महिला, किशोरकिशोरीसहित हजारौं पत्रकार तथा सञ्चारकर्मीहरू रोजगारीबाट बञ्चित भएका छन् । आईएफजे–सहयोगी अफगानिस्तान राष्ट्रिय पत्रकार संघ (एन्जु) ले ३३ वटा प्रान्तमा गरेको सर्वेक्षणले १५ अगस्ट २०२१ देखि ३१८ वटा सञ्चार माध्यम बन्द भएको देखाएको छ । यस सङ्कटले अखबारहरूलाई सबैभन्दा गाह्रो असर पारेको छ र ११४ मध्ये २० जना मात्र प्रकाशित भएका छन् । आइएफजेका लागि संकलित प्रतिवेदन अनुसार अफगानिस्तानमा तालिवान सत्तामा आएपछि ५१ टिभी स्टेशन, १३२ वटा रेडियो स्टेशन र ४९ वटा अनलाइन पत्रिकाले सञ्चालन बन्द गरेका छन् । रोजगारी गुमाएकामध्ये ७२ प्रतिशत महिला रहेको आईएफजेले विज्ञप्तिमा उल्लेख गरेको छ । अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघीय सहायता मिशन (यूनामा) ले जारी गरेको प्रतिवेदनअनुसार मानवअधिकार उल्लङ्घनका कारण १७३ पत्रकार तथा सञ्चारकर्मी प्रभावित भएका छन् । तीमध्ये १६३ जना अधिकारकर्मी भएका कारण नै पीडित भएका थिए ।

–रासस

प्रतिक्रिया