इरान–अफगानिस्तान सहकार्यका निम्ति सहमत

इरान र अफगानिस्तानले पारस्परिक व्यापार वृद्धिका निम्ति सहकार्य गर्न सहमति जनाएका छन् । दुवै देशबीच इन्धन व्यापारको सम्झौता पनि भएको छ । शनिबार दुई देशबीच भएको सम्झौताअनुसार अफगानिस्तानले तीन लाख ५० हजार टन इन्धन आयात गर्नेछ । इरान भ्रमण गरेको अफगान प्रतिनिधिमण्डलले छिमेकी देशबाट तीन लाख ५० हजार टन तेल खरिद गर्न इरानी कम्पनीसँग शनिबार सम्झौता गरिएको अर्थ मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ । प्रतिनिधिमण्डलमा अर्थ र परराष्ट्र मन्त्रालय, केन्द्रीय बैंक, अफगानिस्तान आयल एण्ड ग्यास कर्पोरेशन र अफगानिस्तान राष्ट्रिय नापतौल प्राधिकरणका उच्च अधिकारी थिए । इरानमा रहँदा प्रतिनिधिमण्डलले पछिल्लो समय पेट्रोल र ग्यासको मूल्यमा भएको वृद्धि, अफगानिस्तानमा तेल खरिद, दर र पेट्रोलियम पदार्थको ढुवानीलगायत विषयमा छलफल गरेको थियो । अर्थमन्त्रालयका अनुसार तेल आयातको सम्झौतासँगै दुवै पक्षले पेट्रोलियम पदार्थको व्यापार, पारवहनमा सहजीकरण, इन्धन आयातका लागि पाइपलाइन बिछ्याउने र देशमा इन्धन प्रशोधन केन्द्र स्थापनाका निम्ति संयुक्त समिति गठन गर्ने सहमत भएको छ । -RSS

प्रतिक्रिया