रामेछाप दोरम्बा २ स्थायी घर भएका राजु घिसिङ १४ वर्षको उमेरमा काठमाडौं आइपुगे । काठमाडौं आएलगत्तै राजुले क्यान्टीनमा भाँडा माझ्ने काम पाए । ९ महिना जति क्यान्टीनमा भाँडा माझ्ने काम गरेपछि उनले त्यो काम छाडे र आफैँ केही गर्ने योजना बनाउन थाले । काम गरेर जोहो गरेको थोरै रकमले बानेश्वर भलभद्र मार्गमा पानी पुरी चटपटे बेच्न शुरु गरे । पछि त्यही व्यवसायलाई बढावा दिँदै राजुले समोसा, आलुचप बेच्ने पसल खोले । १४ वर्षको उमेरमै आफैँले व्यवसाय गरेका राजु एकाएक बिभिन्न सामाजिक सञ्जालहरुमा भाइरल बने । उनले चर्चा परिचर्चा सँगै करिव १० लाख रुपैँया सोही व्यवसायबाट आम्दानी पनि गरे । अब राजुले सपना देखे कि अझै व्यवसायलाई बढाउनुपर्छ, केही मानिसलाई रोजगारी पनि दिनुपर्छ । आफ्नो सपना साकार बनाउन उनले कमाएको १० लाख र बाँकी ७ लाख जति बैँकबाट कर्जा निकालेर पूर्वेली सेकुवा कर्नर एण्ड रेष्टुरेण्टका नाममा नयाँबानेश्वरको पञ्चकुमारी मार्गमा अहिले उनले नयाँ व्यवसाय शुरु गरेका छन् । ५ जनालाई रोजगारी दिएका राजुको अधिकांश समय अहिले रेष्टुरेण्टमै बित्छ । ५ जना स्टाफको खर्च, रेष्टुरेण्टको कोठा भाडा सबै तिरेर अहिले महिनाको २० हजार जती कमाउने गरेको राजुको सुनाउँछन् । होटेल रेष्टुरेण्ट लाइनमै कम्तीमा ५० जना नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई रोजगारी दिने राजुको सपना छ ।
प्रतिक्रिया