धरानका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर वालेन शाह एक अर्का प्रति घोचपेचमा उत्रिएका छन् । मेयर निर्वाचित भएपछि पहिलोपटक काठमाडौं आएका हर्कले मेरो अनलाइन टिभीसँगको कुराकानीमा आफू बालेनको ठाउँमा भए फोहोरको डङ्गुर थुप्रन नदिने बताएका थिए । केही दिन काठमाडौंको बसाई सकेर आज धरान पुगेका मेयर साम्पाङले सामाजिक सञ्जाल फेसवुकमा जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ, कम्से कम काम त शुरु गरे भनेर ब्यङ्ग्य प्रहार गरेका छन् । उक्त स्टेटसको जवाफमा बालेनले लेखेका छन् हो नी तपाईँकै चुनाव चिन्ह लाउरो लिएर मैले चुनाव पनि जितेको हो नी । धेरैले बालेन र हर्कको काठमाडौंमा भेट भएको हेर्न चाहेका थिए । भेट त हुन सकेन घोचपेच र ब्यङ्ग्य बाण चाहीँ प्रहार शुरु भयो । उसो त हर्कले आफूले सञ्चार माध्यमहरुमा आलोचनात्मक टिप्पणी गरेका कारण युवा संघले फोहोर उठाउन शुरु गरेको विषयलाई ब्यङग्य गरेको जस्तो देखिन्छ । हर्कले सोही स्टेटसमा चाहीँ बालेनको विरोध गरेको जस्तो देखिन्न तर ब्यङ्ग्य पक्कै पनि बालेनप्रति गरेको पाइन्छ । यी दुबै मेयर स्वतन्त्रबाट निर्वाचित हुन् र दुबैका उत्तिकै समर्थकहरु देखिएका छन् । यी दुईको यो हाँसो ठट्टाजस्तो देखिने ब्यङ्ग्य वाण र घोचपेच यत्तिमै सीमित भए राम्रा हुन्छ होला ।
प्रतिक्रिया