काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सार्वजनिक जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य मान्य नहुने बताएका छन् । आज एक प्रेश विज्ञप्ती जारी गर्दै मेयर शाहले यस्तो स्पष्ट पारेका हुन् । आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृती विना निर्माण कार्य गर्न नपाउने विज्ञप्तीमा उल्लेख छ । साथै, निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउनेछु भनी महानगरसंग सम्बन्धित व्यक्ति वा संस्थाले कवुलियत गरेको तथ्यलाई पनि महानगरले विशेष ध्यान दिएको मेयर शाहले बताएका छन् ।
कानूनको अनुपालना गर्न पैतीस दिनको सूचना दिँदा पनि अटेर गरेपछि गैरकानूनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न महानगरीय प्रहरी बलको परिचालन गर्नु पर्ने परिस्थिति आएको उल्लेख गर्दै भूइ तला वा बेसमेन्टमा पार्किङ्ग गर्ने गरी भवनको नक्सा स्वीकृती लिएका व्यक्ति वा संस्थाले सो वापत महानगरबाट तला थप लगायतका विभिन्न सुविधा पनि लिइरहेको मेयर बालेनको भनाइ छ । कतिपय व्यक्ति वा संस्थाले आफूले महानगरबाट पाउने सवै सुविधा लिने तर कवुलियतनामाका शर्तहरु भने उल्लंघन गर्ने गरेको अवस्था व्यापक रहेको भन्दै नियम उल्लङ्घनकर्ताहरुलाई नै अहिले कारवाही गरिएको विज्ञप्तीमा जनाइएको छ ।
नेपालको संविधान र कानूनले काठमाडौं महानगरपालिकालाई कानून बनाउने व्यवस्थापिकीय अधिकार, कानून कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरुपण गर्ने न्यायिक अधिकार सुम्पिएकाले वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको पनि विज्ञप्तीमा स्पष्ट गरिएको छ । अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) ले दिएको प्रश्ट पार्दै कानूनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्यलाई बुझीदिन मेयर शाहको अनुरोध छ ।
यता, सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने महानगरपालिकाको अभियानमा आफ्नो पूर्ण समर्थन रहेको उपमयर सुनिता डङ्गोलले बताएकी छन् । आज सामाजिक सञ्जाल फेसबुकमा एउटा अपिल जारी गर्दै उपमेयर डङ्गोलले काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो पनि एजेण्डा भएकाले त्यसप्रति प्रति आफू सजग र सचेत रहेको पनि स्मरण गराएकी छन् । केही दिनदेखि मुख्य गरेर केही अनलाईन मिडियाहरुमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ, उपमेयर डङ्गोलले अपिलमा अगाडी लेखेकी छन् ”पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रुपमा लिइने गरिएको छ । पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन । यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।”
प्रतिक्रिया