बिलावल भुट्टो पाकिस्तानको नयाँ विदेशमन्त्री बने

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले मन्त्री पदको शपथ खाएका छन्। उनलाई पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले शपथ खुवाएका हुन्।

सो अवसरमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पनि उपस्थित थिए। बीबीसी उर्दूका अनुसार बिलावल भुट्टो पाकिस्तानको नयाँ विदेशमन्त्री बनेका हुन्।
बिलावल भुट्टोकी आमा बेनजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री भइसकेकी छन् भने उनका पिता आसिफ अली जर्दारी राष्ट्रपति।
३३ वर्षीय बिलावल भुट्टो सन् २०१८ मा पहिलोपटक सांसद निर्वाचित भएका थिए। उनी अहिले पहिलोपटक मन्त्री बनेका हुन्।
इमरान खानको सरकारको अपदस्थ भएपछि पाकिस्तानमा पीएमएल (नवाज) का शहबाज सरिफको नेतृत्वमा गठबन्धन सरकार सत्तामा छ। पाकिस्तान पिपुल्स पार्टी यो गठबन्धन सरकारको महत्वपूर्ण सहयोगी हो।

प्रतिक्रिया