पछिल्लो समय म्युजिक भिडियोमा ठुलो लगानी गर्ने कम्पनीहरु उदाउँदै छन् । तीनै कम्पनी मध्ये एक हो स्वप्निल क्रिएशन जसले पछिल्लो म्युजिक भिडियो टाढा भएपनि २ फिमेल भर्सनमा झण्डै १४ लाख लगानी गरेको छ । कोरियामा इपिएसमार्फत पुगेका संगीतप्रेमि सर्वजित राई उर्फ राई प्रिन्स यसका संचालक हुन् । उनले ठुलै चुनौती मोलेर म्युजिक भिडियोमा लगानी गर्ने गरेका छन् । स्वप्निल क्रिएशनले यसअघि पनि तिमिले चुमेका हातहरु, सानो चोट लगायत गीतमा पनि लाखौं लगानी गरेको थियो । ‘कोरियामा बसेर कमाएको सबै नेपाली संगीतमा लगानी गर्न चाहान्छु, राम्रो लगानी गर्यो भने प्रतिफल पनि रामै्र हुँदोरहेछ, सर्वजित भन्छन्, अहिलेसम्मका सबै कामहरुलाई दर्शक श्रोताले मन पराएर साथ दिनुभएको छ ।’ आगामी दिनमा नेपाली चलचित्र उद्योगमा पनि लगानी गर्ने स्वप्निल क्रिएशनको योजना छ ।’पैसा धेरै भएर भन्दा पनि जति कमाइएको छ हाम्रै क्षेत्रमा लगानी गर्दा सबैले रोजगारी पनि पाउने, काम राम्रो भए प्रतिफल पनि पाउने भएकाले मैले बिना हिच्कीचाहट लगानी गरेको हो,’ सर्वजित सुनाउँछन् । स्वप्निलको पछिल्लो म्युजिक भिडियोले पनि दर्शक श्रोताको राम्रै साथ पाएको छ । उर्गेन दोङको शब्द,संगीत रहेको गीतमा अस्मिता अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीले अभिनय गरेका छन् ।
प्रतिक्रिया